Skip to main content

कोषको शहरी पूर्वाधार विकास आयोजना अन्तर्गत वालिङ नगरपालिकामा “वालिङ बसपार्क (Waling Bus Park)" आयोजना निर्माणका लागि ऋण तथा अनुदान सम्झौता सम्पन्न ।

वालिङ नगरपालिकामा व्यवस्थित वसपार्क निर्माणका लागि मिति २०८० असोज ८ गते वालिङ नगरपालिका र नगर विकास कोष बीच ऋण सम्झौता सम्पन्न भएको छ ।

नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यू र वालिङ नगरपालिका नगर कार्यपालिका प्रमुख श्री कृष्ण खाँणज्यू बीच आयोजनाको कुल अनुमानित लागत रू. १२,२७,५७,०००।-(अक्षरेपी बाह्र करोड सत्ताईस लाख सन्ताउन्न हजार मात्र) को ५५ प्रतिशतले हुन आउने रकम रू. ६,७५,१६,३५०।- (अक्षरेपी छ करोड, पचहत्तर लाख, सोह्र हजार तीन सय पचास मात्र) ऋण र १० प्रतिशतले हुन आउने रकम रू. १,२२,७५,७००।‑ (अक्षरेपी एक करोड बाईस लाख पचहत्तर हजार सात सय मात्र) को अनुदान सम्झौतामा हस्ताक्षर सम्पन्न गरिएको छ ।

वालिङ बसपार्क आयोजना निर्माणको कुल अनुमानित लागत रू. (१२,२७,५७,०००।- (अक्षरेपी बाह्र करोड सत्ताईस लाख सन्ताउन्न हजार मात्र) को ३५ प्रतिशत बराबरले हुन आउने रकम रू. ४,२९,६४,९५०।‑ (अक्षरेपी चार करोड उनान्तीस लाख चौसठ्ठी हजार नौ सय पचास मात्र) रकम नगरपालिकाबाट व्यहोरिनेछ ।

वालिङ नगरपालिकाको वडा नं. ८ मा करिब ३० रोपनी क्षेत्रफलमा निर्माण हुने यो आयोजनालाई लुम्विनी प्रदेश र गण्डकी प्रदेशका जिल्लाहरुबाट आवत जावत गरिने सवारी साधनहरुको व्यवस्थापनका लागि महत्वपूर्ण आयोजनाकोरुपमा मानिएको छ ।

उक्त सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुखज्यूबाट यस बसपार्कबाट नगरवासीलाई व्यवस्थित र आधुनिक सेवा सुविधा प्रवाह गर्नुका साथै यस क्षेत्रका जनताको सामाजिक र आर्थिक विकासमा समेत टेवा पुग्ने विस्वास व्यक्त गर्दै आयोजना गुणस्तरीयरुपमा समयमा सम्पन्न गर्नेतर्फ नगरपालिकाको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्झौता कार्यक्रममा कोषका कार्यकारी निर्देशकज्यूले आयोजना ऋण सम्झौताको चरणसम्म आई पुग्दा नगर विकास कोषले आयोजनालाई गुणस्तरीय बनाउन आयोजनाको तयारी तथा विकासको चरणदेखि नै नगरपालिकासंग सहकार्य भएको बताउदै आयोजनालाई गुणस्तरीयरुपमा सम्पन्न गर्नेतर्फ नगरपालिकाको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गर्नुभयो । यो आयोजना लुम्विनी प्रदेश र गण्डकी प्रदेशका विभिन्न जिल्लाका सवारी साधनहरुको लागि व्यवस्थित गन्तव्यको रुपमा विकास भई व्यवस्थित शहरीकरणमा समेत महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्झौता कार्यक्रमा नगर विकास कोषको तर्फबाट नगर विकास कोष संचालक समितिका सदस्य श्री हिक्मत जंग कार्कीज्यू तथा कोषका पदाधिकारीहरु र नगरपालिकाको तर्फबाट वालिङ नगरपालिकाका उप–प्रमुख श्री कविता गैह्रेज्यू, वडा नं. १ अध्यक्ष श्री पदम गुरुङज्यू, वडा नं.१० अध्यक्ष श्री सुनिल खनालज्यू र वालिङ नगरपालिकाका इन्जिनियर धुर्व रेग्मीज्यूको पनि महत्वपूर्ण उपस्थिती रहेको थियो ।

happy new year