• " दीगो लगानी र शहरी पूर्वधार देश विकासको मुल आधार "

शहरी पूर्वाधार विकास कार्यक्रम (UIDP) अन्तर्गत कोहलपुर बसपार्क आयोजनाका लागि ऋण सम्झौता सम्पन्न

शहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत मध्यपश्चिम तथा सुदुर पश्चिम क्षेत्रकै महत्वपूर्ण द्वारको रुपमा रहेको कोहलपुर नगरपालिका, बाँकेमा सुविधा सम्पन्न वपसपार्क निर्माण गर्ने उद्देश्यका साथ मिति २०७७।६।२३ मा कोहलपुर न.पा. बाँके नगर विकास कोष बीच ऋण सम्झौता सम्पन्न भयो । सम्झौतामा कोषका कार्यकारी निर्देशक श्री कृष्णप्रसाद सापकोटा र कोहलपुर नगरपालिकाका प्रमुख श्री लुट बहादुर रावत बीच रू. २७,९९,१८,०००।– (अक्षरेपी सत्ताइस करोड उनान्सय लाख अठार हजार मात्र) को ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भयो । ऋण सम्झौतामा कोहलपुर नगरपालिकाका वडा नं. ३ का वडा अध्यक्ष श्री माधव रिजाल समेत सहभागी हुनु भएको थियो । यस का्ेहलपुर वसपार्क आयोजना निर्माणको कुल अनुमानित लागत रू. ४६,६५,३०,०००।– (अक्षरेपी छयालिस करोड पैंसठ्ठी लाख तीस हजार) को ६० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ४० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिनेछ । पूर्व पश्चित राजमार्गसंग जोडिएको साथै कर्णालीको मुख्य प्रवेशद्वारको रुपमा समेत रहेको यस न.पा.मा निर्माण हुने वसपार्कले कर्णाली प्रदेशका अतिरिक्त लुम्बिनी प्रदेशलाई समेत जोड्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

उक्त ऋण सम्झौता कार्यक्रममा कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाले अत्यन्त महत्वपूर्ण स्थानमा बन्न लागेको वसपार्कले पूर्वाधारको मात्र विकास होइन उक्त क्षेत्रकै समष्टिगत आर्थिक विकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो, साथै कोषले पूर्वाधार विकासमा लगानी बढाउन पाएकोमा गर्विलो महशुस गरेको विचार व्यक्त गर्नुभयो । समयमै निर्माण सम्पन्न भई उक्त क्षेत्रको मुहार परिवर्तनका लागि महत्वपूर्ण आयाम हुने विचार राख्नु भयो । कार्यक्रममा बोल्दै कोहलपुर न.पा.का प्रमुख श्री लुट बहादुर रावतले आयोजनालाई गुणस्तरीयरुपमा सम्पन्न गरी जनतालाई समयमै प्रतिफल प्रदान गर्न न.पा. प्रतिवद्ध रहेको र यसका लागि न.पा.ले आफ्नो सम्पूर्ण क्षमताका साथ प्रस्तुत हुने विचार व्यक्त गर्नु भयो । यस महत्वपूर्ण स्थानमा निर्माण हुने वसपार्कले न.पा.को आय स्रोत बृद्धि हुनुका साथै व्यवस्थित शहरी विकासमा महत्वपूर्ण योगदान प्रदान गर्नेछ ।